आजको मौसम: विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौं,मंसिर २५ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
दिपायलमा पछिल्लो २४ घण्टामा २.५, डडेल्धुरामा ३.१ र सुर्खेतमा २.१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।