मौसम: शुक्रबारदेखि पुनःबदली र वर्षा हुने
काठमाडौँ, पुस ११ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले आज बिहीबार र भोलि शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
“बुधबार र बिहीबार खासै वर्षाको सम्भावना छैन,बुधबार राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ”, उनले भनिन, “शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।”
मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ ।
पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । उनले भनिन, “मङ्गलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ । घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ ।”