नुवाकोटमा भोटेकोसी बाढीपीडितलाई प्रचण्डले हस्तान्तरण गरे २० अस्थायी आवास
नुवाकोट,असोज २७। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेका बाढीपीडित परिवारलाई २० वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।
त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित परिवारका लागि योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले निर्माण गरेका घरटहरा प्रचण्डको प्रमुख आतिथ्यतामा मंगलबार हस्तान्तरण गरिएको हो ।
वाईसीएलका अनुसार विस्थापित परिवारको पुनर्स्थापनाका लागि करिब १५० वटा अस्थायी आवास निर्माण भइरहेका छन् । पूर्ण रूपमा तयार भएका २० वटा घरटहरा हस्तान्तरण गरिएको हो । आवासमा खानेपानी, शौचालय, बिछ्यौना, खाद्यान्न तथा भान्साका सामग्रीसमेत उपलब्ध गराइएको जनाइएको छ ।
आवास हस्तान्तरण कार्यक्रममा प्रचण्डले भोटेकोसीमा आएको बाढी प्राकृतिक विपत्ति मात्र नभई जलवायु परिवर्तनको भयावह परिणाम भएको बताए ।
बाढीपछि वाईसीएलका नेता तथा कार्यकर्ता उद्धार, राहत र पुनर्स्थापनामा खटिएका थिए । संगठनका अनुसार नुवाकोटमा केन्द्र, प्रदेश र जिल्ला तहबाट करिब ६०० जना नेता तथा कार्यकर्ता परिचालन भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा पुरिएका धनमाल खोजेर सम्बन्धित घरधनीलाई बुझाउने, बाढीले बगाएका शवको खोजी तथा व्यवस्थापन गर्ने, रक्तदान गर्ने र होल्डिङ सेन्टरमा खानपिनको व्यवस्था गर्नेलगायत काममा पनि वाईसीएलको टोली संलग्न भएको थियो ।
बेलकोटगढी नगरपालिकाका सबै विस्थापित परिवारलाई आवश्यक सामग्रीसहित सुरक्षित आवासको व्यवस्था गर्ने लक्ष्य रहेको वाईसीएलले जनाएको छ । नुवाकोटको कार्यक्रमपछि प्रचण्ड रसुवाका बाढीपीडितसँग भेटघाट गर्न जाने कार्यक्रम रहेको छ ।
गत भदौ १० गते चीनको तिब्बत क्षेत्रबाट भोटेकोसीमा आएको विनाशकारी बाढीले नुवाकोटसहित विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । बाढीपछि विस्थापित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका काम जारी छन् ।

