विकास–निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ



लमजुङ,माघ १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आयोजित स्वर्ण जयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए।

देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए । उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।” 

सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्ने गरी सरकार काममा लागेको बताए ।

अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउनेलगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐन कानुन अध्यादेशमार्फत जारी गरिएको उनले स्पष्ट गरे । संसद्मा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन  संसद्बाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अँगाल्नुको विकल्प नरहेको उनको कथन थियो । 

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले फरक प्रसङ्गमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तलमाथि नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्