अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए



अछाम,माघ १३ । बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । 

स्थानीय षोडशा सामुदायिक वनमा शुक्रबार बाख्रा चराउन गएका दुई किशोरीलाई खोजी गर्ने क्रममा शनिबार मृत अवस्थामा भेटिएको स्थानीय रामबहादुर भण्डारीलाई उदृत गर्दै बालाराम ढकालले जानकारी दिए । दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घटना बारेमा आफूले भर्खरै जानकारी पाएर धनगढीबाट गाउँ फर्किरहेको ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले जानकारी दिए । ‘घटना विभत्स खालको भन्ने छ, दुईटाको लाश २० मिटरको फरकमा छ भन्ने आएको छ’ अध्यक्ष साउँदले भने । 

घटनास्थलमा प्रहरी पुगिसकेको भए पनि राति अनुसन्धान हुन नसक्ने भन्दै बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जान तयारी अवस्थामा रहेको भण्डारीको भनाइ छ । उक्त वडाको अधिकांश स्थानमा टेलिफोन सम्पर्कको अभावमा थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्