हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु : मन्त्री गुरुङ

काठमाडौ,माघ १३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताए ।
पञ्चायत काल देखिको नीति टेकेर सञ्चालन हुँदै आएको हुलाकको नीति परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले यो वर्ष भित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समयानुकूल बनाउने कार्यमा आफु गम्भीरताका साथ लागेको सुनाए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुक रूपान्तरण सँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा राखे । उनले नेपालमा विभिन्न समयमा भएका शान्तिपूर्ण क्रान्तिले राजनीतिक विकास भएको बताउँदै संरचनागत क्रान्तिमा सुधार ल्याउन तिर हाल सम्म कसैको ध्यान नगएको गुनासो गरे । उनका अनुसार हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण सेवा भएको र यसलाई आधुनिकीकरण गर्न प्रविधि मैत्री बनाउन जरुरी रहेको सुनाए । “अब हुलाकको नीति परिवर्तन हुन्छ,” मन्त्री गुरुङले भने,“साथै हुलाकलाई प्रविधि मैत्री बनाउने विषयमा हाम्रो मन्त्रालय सधैँ संवेदनशील छ ।”
कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवा विभागलाई निर्देशन दिँदै डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट सुधारको कार्य थालनी गर्नु पर्ने बताए । त्यस्तै, कार्यक्रममा स्थानीय तहका सबै हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । यी सबैमाझ मन्त्री गुरुङले हुलाक जनसेवा मुखी बनाउन आग्रह समेत गरे। “हुलाक सेवाको प्रभावकारिता सुरुवात केन्द्रबाट गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरू स्थानीय तहका हुलाक कर्मचारीले आ–आफ्नो क्षेत्रमा सेवा प्रभावित बनाउनुहोस्”, मन्त्री गुरुङले भने,“मन्त्रालयबाट नेतृत्व लिएर तपाईँहरूको काममा साथ दिन हरदम तयार छु ।”