जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया

बाजुरा,माघ १५ । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। अस्पतालमा लामो समय देखि उपचाररत बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको पहिलो पटक शल्यक्रिया गरिएको हो।
अस्पतालको लामो प्रयासका बाबजुद पहिलो पटक बाजुरा अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा. चन्द्र शेखर यादवले बताए । सुरुमा पेट दुख्ने समस्या लिएर अस्पताल आएका थापालाई एपेन्डिसाइटिस देखिएको थियो । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको अनुगमनमा आएको बेला जिल्ला अस्पताल अछामका प्रमुख डा.कमलेश राय यादवको टिमले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको हो।
एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवको नेतृत्वमा डा।पवन अर्याल, डा.राजेश शाक्य र स्टाफ नर्स सञ्जिता कुमारी खड्काको संलग्नतामा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको अस्पताल बाजुराले जनाएको छ।