बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता हुने

बुटवल,माघ १५ । सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सरसफाइको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग, ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक बुटवलले गर्ने प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरी आयोजक क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले बताए । मनोरञ्जनसँगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको उनले बताए । काठमाडौंमा सरसफाइ अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको उनले बताए ।
यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भैसकेको उनले बताए । “करिब एक हजार जना सहभागी हुने अपेक्षा छ,” उनले भने । १६ वर्ष उमेर माथिको युवाहरु सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए ।
भविष्यमा बुटवलकै पर्वको रुपमा लैजाने गरी अघि बढाउने उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपियाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।