संविधान संशोधन सबै दलको सहमतिमा : सभापति देउवा

काठमाडौ,माघ १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधन गर्दै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे ।
“संसद्मा विचाराधिन विधेयकहरू द्रुत गतिमा निर्माण जरुरी छ”, सभापति देउवाले भने, “सबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु ।” हिउँदे अधिवेशन कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिइने भएकाले विचाराधिन विधेयक र नयाँ विधेयकमाथिको संसदीय प्रक्रियामा शीघ्रता दिइनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको स्मरण गर्दै सभापति देउवाले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सात बुँदे सहमति कार्यान्वयनमा जोड दिए ।
वर्तमान सरकारले नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको पनि उनले बताए । मुलुकको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता र सुदृढ अर्थतन्त्र आवश्यक हुने उल्लेख गर्नुहुँदै सभापति देउवाले सबै दलहरूलाई यी विषयलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरे ।
व्यावसायिक वातावरण प्रवर्द्धन गर्न, लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याइएको र यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ । सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि सरकारले अध्यादेशमार्फत कानून ल्याएको उनको भनाइ छ ।
संसदमा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको उल्लेख गर्दै उनले संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक चाँडो पारित गरेर कार्यान्वयनमा ल्याइनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन आवश्यक रहेको बताए । “यसबारेमा हामीले छलफल प्रारम्भ गरी सकेका छौँ । हामीले अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्छ”, उनले भने ।