स्थायी रूपमै बसाइँ सरेर नेपाल छोड्नेको संख्या सन् २०२४ मा ६६ हजार बढी



काठमाडौं,माघ १९ । एक वर्षमै ६६ हजारभन्दा बढी नेपाली स्थायी बसोबास गर्ने गरी विदेश गएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको सन् २०२४ को प्रतिवेदनअनुसार सो वर्ष ६६ हजार ८३५ नेपाली बसाइँ सरेर विदेश गएका हुन् । स्थायी बसोबासका लागि विदेश जाने नेपालीमा महिलाभन्दा पुरुष धेरै छन् । स्थायी रूपमा बसाइँ सरेर सन् २०२४ मा ३४ हजार ५४४ पुरुष र ३२ हजार २८७ महिला विदेशिएका छन् । 

कुल १६ लाख ७४ हजार २२५ जनाले सन् २०२४ मा अध्यागमन हुँदै यात्रा गरेका थिए । ठूलो संख्यामा नेपाली उतै बसाइँसराइ गरेर गएको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको तुलनामा भने सन् २०२४ मा स्थायी बसोबासका लागि विदेशिनेको संख्या कम हो । सन् २०२३ मा ७० हजार ९१५ जना नेपाली स्थायी बसाइँ सरेर विदेश गएका थिए । ‘यो विदेश जाँदा खुलाएको कारणबाट निकालिएको तथ्यांक हो । यस आधारमा धेरै नेपाली स्थायी बसाइँसराइ गरेर र अस्थायी बसोबासका लागि विदेश जाने गरेको देखिएको छ,’ अध्यागमन विभागका एक उच्च अधिकारीले भने ।

उनका अनुसार नेपालीहरू परिवारिक कारणदेखि अस्थायी बसोबास, तीर्थयात्रा, रोजगारी, डिपेन्डेन्ट, व्यवसायलगायत कामले विदेश जाने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार ५९२ नेपाली विदेशमा रहेको देखाएको थियो । यसमा १५ लाख ५५ हजार ९६१ परिवारका १७ लाख ९९ हजार ९७५ पुरूष र ३ लाख ९० हजार ९१७ जना महिला रहेको तथ्यांकमा देखिएको थियो । त्यअघिका वर्षहरूमा कति नेपाली विदेशमा बसाइँ सरेर गए भन्ने आँकडा सरकारी अधिकारीहरूसँग छैन । 

सन् २०२४ मा सबैभन्दा बढी ८ लाख ५६ हजार ४२२ जना नेपाली रोजगारीका लागि विभिन्न देशमा गएको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिएर सबभन्दा बढी नेपाली दुबर्ई, कतार, मलेसिया, साउदी अरब जाने गरेका छन् । भारत जाने नेपालीको संख्या ठूलो रहे पनि सबैको तथ्यांक राख्ने गरिएको छैन । 

सन् २०२४ को तथ्यांक हेर्दा अध्ययनका विदेश जानेको संख्या पनि ठूलो छ । उक्त वर्ष अध्ययनका लागि १ लाख १९ हजार ४०९ जना नेपाली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति (नो अब्जेक्सन लेटर) लिएर अध्यागमनको बाटो हुँदै विदेश गएको तथ्यांक छ । 
 

प्रतिक्रिया दिनुहोस्