कानेपोखरीमा डुबेर एक जनाको मृत्यु

मोरङ,माघ २० । मोरङको कानेपोखरीमा डुबेर एकजना ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानमा अस्थायी बसोवास गर्दै आएका ४६ वर्षीय कुलबहादुर गिरी रहेका छन् । शनिबार दिउँसो कानेपोखरी ७ को कानेपोखरीमा गिरीको पोखरीमा डुबेर मृत्युु भएको हो ।
अस्थायी प्रहरी चौकी कानेपोखरीका ईन्चार्ज सहायक प्रहरी निरीक्षक राजेश श्रेष्ठका अनुसार पोखरी क्षेत्रमा वनभोज खान पुगेका मानिसहरूले डुबेको देखेपछि तत्काल कानेपोखरी गाउँपालिकाको नगरप्रहरीलाई खबर गरेका थिए । तर नगर प्रहरीले गहिरो पोखरीमा डुबेका गिरीलाई उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी पकलीको गोताखोर टिमलाई खबर गरिएको थियो ।
गोताखोर समूहले उद्धार गर्दा गिरीको मृत्यु भइसकेको थियो । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ५ स्यावुन घर भएका गिरीका आफन्तहरू आएपछि शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी पठाइएको छ ।