सामाजिक सञ्जाल नियमन विधेयक राम्रोसँग अध्ययन गरेरमात्रै विरोध गर्न मन्त्री गुरुङको सुझाव



काठमाडौ,माघ २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक राम्रोसँग अध्ययन गरेरमात्रै विरोध गर्न सुझाव दिएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपाल लमजुङ शाखाको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको अराजकता रोक्न विधेयक ल्याइएको बताए ।

‘प्रिन्ट मिडिया र ब्रोडकाष्टिङ मिडिया आफ्नो ठाउँमा मूल्य मान्यताअनुसार चलिरहेको छ । तर अनलाइन मिडिया त्योअनुरुप चलेको छैन । त्यसको नियमन आजको चुनौती हो,’– उनले भने ।

विधेयक ल्याएपछि नेपाल पत्रकार महासङ्घलगायतका संस्थाले विरोध गरिरहेको स्मरण गराउँदै उनले विरोध गर्नुपर्ने केही कारण नरहेको बताए । अराजकता र उच्छृङ्खलताले लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै उनले समाजमा हिंसा अफवाह र जातीय हिंसा फैलाउने कुराको नियन्त्रण आवस्यक रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्