बजेट खर्च बढाउने गरी काम गर्न प्रदेश प्रमुखको आग्रह

सुर्खेत,माघ २२ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च बढाउने गरी काम गर्न सुझाव दिएका छन् ।
कर्णाली प्रदेशसभाको सातौँ स्थापना दिवस–२०८१ को अवसरमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले लक्ष्यअनुसार चालु आर्थिक वर्षको बजेट खर्च खर्च गर्न सबै निकाय गम्भीर भएर लाग्न उनले आग्रह गरे ।
उनले विकास सबैको साझा मुद्दा भएकाले एकताबद्ध भई जाँगरका साथ अगाडि बढे परिवर्तनको अनुभूति गराउन सकिने धारणा राखे ।
प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी दायित्व सिर्जना भएका आयोजनामा प्रदेश सरकारले चालु आवमा ७० प्रतिशत बजेट विनियोजन गरेको बताए । विगतका काममा ढिलाइ गरेका केही निर्माण व्यवसायीबाहेक सबै सम्पर्कमा आएर काम अगाडि बढाइएको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजकुमार शर्माले नेपाली जनताको त्याग र सङ्घर्षबाट प्राप्त संविधान र व्यवस्था कार्यान्वयनका लागि पनि साझा बुझाई आवश्यक भएको बताए ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने प्रदेशसभाका सात वर्षमा भएका गतिविधि, सरकार, सदनबीच सम्बन्ध र उपलब्धिका विषयमा आफ्नो भनाइ राखे। प्रदेश सकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याल लगायत सहभागी कार्यक्रम प्रदेशसभाको स्मारिका विमोचन गरिएको थियो ।