नुवाकोट शिवपुरीका आगलागी पीडितलाई राहत सामग्री सहयोग

नुवाकोट,माघ २२ । आगलागीबाट पीडित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखती टोलका सीताराम बखती परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति र नुवाकोट उद्योग वाणिज्य सङ्घले खाद्य र गैरखाद्य राहत सामग्री सहयोग गरेको छ ।
सोमबार भएको आगलागीमा बखती परिवारको कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको थियोे । घर आगलागीबाट क्षति भएकोले तत्काल राहत स्वरुप जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नगद १५ हजार रुपैँया र टेण्ट हस्तान्तरण गरेका हुन ।
यसैगरी नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले एक महिनालाई पुग्ने खाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
यसैबीच पीडित परिवारलाई नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का अध्यक्ष शुसिल कुमार खड्का द्वारा भाँडाकुँडा, रासन, लत्ताकपडा लगायतका सामग्री सहयोग गरेका छन् । नेता खड्का र वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठको टोलीले अनुगमनसहित आवश्यक थप सहयोगको प्रतिबद्धता समेत गरेका छन् ।

