अरुण चौधरीलाई बाँसबारी जग्गा प्रकरणमा उन्मुक्ति, सरकारले मुद्दा नचलाउने

काठमाडौ,माघ २३ । बाँसबारी छालजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा जोडिएका अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक चौधरी २०८० माघ १८ गते पक्राउ गरी अनुसन्धान गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतले चौधरीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सीआईबीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग पनि कागजी बयान गराएको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा उक्त जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सुरु भएको थियो । बालुवाटार जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलको छोरालाई उन्मुक्ति दिएझै बाँसबारीमा विनोद चौधरीका भाई अरुणले पनि सत्ताको आडमा उन्मुक्ति पाएका छन् ।