कञ्चनपुरमा निर्माण कम्पनीको गोदाममा भीषण आगलागी, १ करोड मूल्य बराबरको क्षति

कञ्चनपुर,माघ २४ । कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीस्थित हर्क मल्लले सञ्चालन गरेको भवानी कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा गए राति भीषण आगलागी भएको छ ।
विद्युत् सर्टका कारण लागेको आगोले गोदाममा रहेका निर्माण सामग्री जलेर करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
आगलागीबाट सिमेन्ट, प्लाइ बोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, इन्जिन आयल, डिजेल, पेट्रोल, टायर, सेफ्टी फ्रेम, जोइन्ट फिलर लगायतका सरसामान पूर्ण रूपमा नष्ट भएका छन् ।
आगलागी नियन्त्रण गर्न दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालित भए पनि ठूलो क्षति हुनबाट जोगाउन सकिएन ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । स्थानीयवासीले विद्युत् लाइन व्यवस्थापनमा लापरबाहीले आगलागीको जोखिम बढेको बताउँदै सतर्कता अपनाउन आग्रह गरेका छन् ।