नुवाकोटमा २५ हजार ग्राहकको विद्युतको लाइन काटिँदै

नुवाकोट,फागुन १ । नुवाकोटमा विद्युत् महसुल नतिर्ने २५ हजार ५२१ ग्राहकहरुको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।
जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट १० करोडभन्दा बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्म विद्युत महसुलबापतको १० करोड २० लाख २५ हजार रुपैँया बक्यौता उठाउन बाँकी रहेको नुवाकोट वितरण केन्द्रका प्रशासन प्रमुख तथा सूचना अधिकारी जनक शर्माले बताए । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका उक्त सङ्ख्या ग्राहकहरुबाट उक्त रकम असुल गर्न बाँकी रहेको उनले बताए ।
समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य सुरु निरन्तर भइ रहेको छ । प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइन काट्ने नीति लिएको छ । सोही नीतिअनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्ने कार्य सुरु भएको वितरण केन्द्रका प्रमुख ईन्द्रबहादुर जिसीले बताए ।
अनलाईन भुक्तानी गर्ने विभिन्न माध्यम रहेतापनि ग्रामिण भेग र पहुँच नभएका ग्राहकहरुमा अनलाईन महसुल तिर्ने जनचेतनाको कमी रहेको लेखा प्रमुख लेखनाथ रिजालले बताए । विद्युतको महसुल अनलाईन पनि हेर्न सकिने व्यवस्था छ । भुकम्प परेर मिटर पुरेको, बसाईं सरी अन्यन्त्र गएको, सुरक्षित स्थानमा गएको लगायतका ८१३ ग्राहकहरुबाट बक्यौता उठाउन बाँकी छ ।
नुवाकोटमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेरपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुनः लाइन जोड्दै आई रहेको छ ।
हाल जिल्लामा ६५ हजार ९७० ग्राहकहरु विद्युत उपभोग गर्दै आईरहेको छ । मिटर रिडीङको लागि ३८ जना कर्मचारीहरु खटाईएको छ ।
५ एम्पियरको मासिक न्युनतम ३० रुपैँयादेखि थ्री फेज भोल्टको मासिक १० हजार रुपैँया विद्युत महसुल रहेको छ ।