नुवाकोटका पत्रकार द्वय प्याकुरेल र खनाल पुरस्कृत

नुवाकोट,फागुन ३ । प्रेस सेन्टर नेपाल नुवाकोटले स्थापना गरेको ‘रवि इच्छुक स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान’ नुवाकोटका दुई जनपक्षीय पत्रकारहरुलाई प्रदान गरिएको छ ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सशक्त कलम चलाउँदै आएका पत्रकारहरु संस्थाका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज बद्रीप्रसाद प्याकुरेल र नेपाल पत्रकार महासंघ नुवाकोटका निवर्तमान अध्यक्ष तथा प्रेस सेन्टर नेपाल बागमती प्रदेशका उपाध्यक्ष कपिलदेवलाई उक्त सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
आज विदुरमा आयोजित संस्थाको चौथौँ जिल्ला सम्मेलनमा नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले पत्रकार द्वयलाई नगद पुरस्कारसहित सम्मान गरेका छन् ।
उक्त सम्मान र पुरस्कार युद्धपत्रकारिताका शहिदहरुको स्मरणमा यो वर्षदेखि जनपक्षिय पत्रकारितामा समर्पित पत्रकाररुलाई आगामी वर्षहरुमा निरन्तर दिंइदै जाने निर्णय भएको संस्थाका अध्यक्ष रामहरी गजुरेलले जानकारी दिए ।
महान् साँस्कृतिक शहिद तथा पत्रकार कृष्णसेन इच्छुकसहित जनयुद्धको क्रममा युद्धमोर्चामै रहेर पत्रकारिता गर्दागर्दै बलिदानी दिएका महान् शहिदहरु नुवाकोटका रवि बोगटी (अनन्त) र रामप्रसाद पाठक (रवि) को नाममा उक्त सम्मान र पुरस्कार कोष स्थापना गरिएको जनाएको छ ।
जनपक्षिय समाचारको मुख्य माध्याम जनादेश साप्ताहिकका तत्कालिन सम्पादक इच्छुकको तत्कालिन निरंकुश राज्यसत्ताद्धारा हत्या गरिएको थियो । बोगटीको धादिङ जिल्लामा रहेर आँखु सन्देश पत्रिका र पाठकको नुवाकोटमा प्रकाशित हुने छाल पत्रिकामा युद्धपत्रकारितामा सक्रिय रहँदारहँदै बर्बतापूर्वक हत्या गरिएको थियो ।