युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी दबाब, ‘सुरक्षा ग्यारेन्टी’ गर्न जेलेन्स्कीको माग



म्युनिख, जर्मनी । यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रवार म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गरी युद्धविराम सम्झौताका लागि “सुरक्षा ग्यारेन्टी” को आवश्यकता जाहेर गरेका छन् ।

यस भेटको क्रममा उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरू गरेको रूसी नेता भ्लादिमिर पुतिनसँग युद्धविराम वार्ता  गर्ने घोषणामा केन्द्रित गरेका थिए।

जेलेन्स्कीले पत्रकारहरूलाई दिएको अन्तर्वार्तामा युद्धको अन्त्य हुनु अघि यूक्रेनले वास्तविक सुरक्षा ग्यारेन्टी चाहेको बताएका छन् । उनले भने, “हामीलाई शान्ति चाहिएको छ, तर हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। संयुक्त राज्य अमेरिकाको समर्थन बिना यूक्रेनको बाँच्ने सम्भावना धेरै कम छ।”

अमेरिकी उपराष्ट्रपति भान्सले जेलेन्स्कीसँग भएको भेटलाई “सकरात्मक छलफल” भनेका छन् । उनले अमेरिकी प्रशासनको लक्ष्य युद्धलाई रोकेर दीर्घकालीन शान्तिमा ल्याउने रहेको बताए। भान्सले भने, “हामी यस्तो शान्ति चाहन्छौं जसले पूर्वी यूरोपलाई फेरि संघर्षमा धकेल्दैन।”

यसैबीच, जेलेन्स्कीले सोशल मिडिया एक्समा लेखेका छन् ‘वाशिङटनबाट किभ आउनेछ र यूक्रेनले वास्तविक र ग्यारेन्टीकृत शान्तिको कुरा तीव्र गतिमा अगाडि बढ्न तयार रहेको छ।

ट्रम्पले यस हप्ता पुतिनसँग ९० मिनेट फोन कल गरेपछि जेलेन्स्कीसँग फोन कल गरेका थिए । जसलाई यूक्रेनी नेताले खुसी हुनुपर्ने कुरा नभएको बताएका छन् । तर अमेरिकी अधिकारीहरूले यूक्रेनलाई पछाडि छोडिने छैन भनेर आश्वासन दिएका छन्।

युरोपीयन सहयोगीहरूले पनि युद्धविराम वार्तामा आफ्नो भूमिका रहनुपर्ने माग गरेका छन्। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले जेलेन्स्कीलाई आश्वासन दिदै भनेका छन् “यूक्रेनीहरू मात्रले रूससँग ठोस र दीर्घकालीन शान्तिको लागि छलफल चलाउन सक्छन्।”

युद्धविरामका लागि अमेरिका र यूरोप बीचको सहयोगलाई केन्द्रित गर्दै जेलेन्स्कीले भनेका छन्, “हामी सँगै काम गरेर न्यायपूर्ण र दीर्घकालीन शान्ति प्राप्त गर्न सक्छौं।” एएफपी

प्रतिक्रिया दिनुहोस्