परराष्ट्रमन्त्री डा. देउवा र जापानी विदेश राज्यमन्त्री बीच भेटवार्ता



काठमाडौ,फागुन ५ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा. देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । 

त्यस अवसरमा मन्त्री डा देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गरिन ।

भेटका क्रममा नेपाल र जापानले आगामी बर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो । 

त्यस अवसरमा नेपाल र जापानले गत बर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच बर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो ।   

साथै मन्त्री डा देउवाले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण विपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुन निर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी थिइन। 

प्रतिक्रिया दिनुहोस्