वर्षाको समयमा पनि बिपी राजमार्ग सञ्चालन गर्न मर्मतको काम सुरु



काभ्रे,फागुन ६ । असोज महिनाको दोस्रो सातामा आएको बढीले सङ्घीय राजधानी काठमाडौँलाई तराइसँग जोडेने छोटो दुरीको बिपी राजमार्ग अन्तरगत भकुण्डे–नेपालथोक सडकखण्डको १० किलो मिटरभन्दा बढी सडक भत्काएको छ ।

भत्किएको सडकका केही स्थानमा अहिले मर्मत कार्य भइरहेको छ । वर्षाको समयमा पनि राजमार्गमा सवारी सञ्चालन गर्नको लागि सडक डिभिजन कार्यालय भक्तपुरले अहिले राजमार्गको विभिन्न स्थानमा मर्मतको काम गरिरहेको छ ।

कार्यालयले एक साताअघि राजमार्गको दुई स्थानमा मर्मतको काम गरिरहेको कार्यालयका ईन्जिनियर दुर्गा प्रसादले बताए । अहिले राजमार्गको बोक्सीकुना र चिउरीबासझाङमा रोशी खोलाको धार परिवर्तन गर्ने, खोलालाई गहिरो बनाउने, अहिले चलिरहेको अस्थाई डाइभर्सनको हाइट बनाउने काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार, वर्षा सुरु हुनु अघि राजमार्गका १४ वटा स्थानमा मर्मतको काम सम्पन्न गरिनेछ । अहिले राजमार्गको मर्मतको कामका लागि ८ वटा डोजर परिचालन गरेर कामलाई तिब्र बनाइएको उनको भनाई छ ।

वर्षा सुरु हुनै लाग्दा पनि राजमार्गको पुनःनिर्माणको काम सुरु नहुँदा सवारी चालक र यात्रुलाई चिन्ता भएको छ । वर्षाको समयमा राजमार्ग बन्द नै हुने हो कि जनगुनासो भइरहेको छ ।

बाढीले राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षत–विक्षत भएपछि अस्थाई रुपमा सञ्चालनमा ल्याएको राजमार्गमा यात्रुहरु कयौं दुख र सास्ती खेप्दै यात्रा गर्न बाध्य छन् । कतै धुलो, कतै खाल्डा–खुल्डी, कतै हिलोको सामाना गर्दै हजारौं यात्रुहरुले राजमार्गको यात्रा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्