रुकुममा माओवादीका नगर अध्यक्षसहित ६ जनाको सामूहिक राजीनामा



रुकुमपश्चिम,फागुन ७ । नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिम चौरजहारी कमिटीका अध्यक्ष सुन्दर शर्मासहित ६ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन्  ।

बुधबार पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकमा उपाध्यक्ष महेश स्वर्णकारलाई सम्बोधन गर्दै अध्यक्ष शर्मासहित सदस्यहरु लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर बुढा, असारी दमाई र ललिता विष्टले एक साथ राजीनामा दिएका हुन् । 

गत पुस १३ देखि १७ गते सम्म चौरजहारीमा भएको तेस्रो नगर अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कमिटी चयन भएको थियो । निर्वाचन आयोगले तोकेको विधि प्रक्रिया पूरा गरी नगर कमिटीको जिम्मेवारी प्राप्त भन्दै पार्टीकै कार्यकर्ताहरुले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए ।

लामो समयसम्म उक्त उजुरी विचाराधिन रहेको र उक्त बिषयमा सामाजिक सञ्जालमा समेत नकारात्मक टिका टिप्पणी हुन थालेपछि राजीनामा दिएको अध्यक्ष शर्माले जानकारी दिए । उनले नगर अधिवेशनपछि पार्टीमा देखिएको मनमुटावलाई एकताबद्ध गर्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

नगर कमिटी बैठकलाई जानकारी गराउँदै आफू र अन्य पाँच सदस्यले सामुहिक राजीनामा दिएको शर्माले जनाए । पार्टी भित्रको एकता र सुदृढिकरणका लागि मार्ग प्रशस्त गरेको शर्माले बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य विशाल शर्मा, प्रदेश कमिटी सदस्य राधा रोका र सपना कार्की लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्