‘विपद् जोखिम न्यूनीकरण गर्न राज्यले थप तयारी गर्नु आवश्यक छ’



गोरखा,वैशाख १३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण गर्न राज्यले थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका–२ बारपाकमा गोरखा भूकम्पको स्मृतिमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेपालमा विभिन्न खालका विपद्ले ठूलो नोक्सानी गर्दै आएको भन्दै राज्यले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ ढङ्गले तयारी थाल्नुपर्ने बताए ।

विपद्लाई रोक्न नसकिने भए पनि न्यूनीकरण गरेर ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले जोखिम न्यूनीकरण गर्नु राज्यको महत्त्वपूर्ण पक्ष रहेको उपाध्यक्ष श्रेष्ठले उल्लेख गरे । 

“गोरखा भूकम्पले देशलाई पुनर्निर्माणको एउटा अवसर पनि दिएको थियो । त्यसले हामीले कति सकारात्मक ढङ्गले अवसरलाई उपयोग गर्न सक्यौँ, कति आफ्नै कमजोरीका कारण अवसर सदुपयोग गर्न सकेनौँ त्यसको समीक्षा गर्दै जानुपर्छ”, उनले भने ।

सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धि हासिल गर्दै जनताको जीवनस्तर उठाउनु देशको मुख्य कार्यभार रहेको उपाध्यक्ष श्रेष्ठले धारणा राखे । “युवालाई नयाँ जीवन दिन मुलुकभित्र प्रशस्त सम्भावनाहरू छन्”, उनले भने, “ती सम्भावनालाई समातेर फड्को मार्न सक्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्