मुगुमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, दुई गम्भीर घाइते
मुगु,कात्तिक २९। रारा घुम्न आउँदै गरेको ट्वयटा गाडी मुगुमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको ट्वयटा गाडी छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । गम्भीर घाइते एक पुरुष र एक महिलालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिनुभयो ।

