विभिन्न जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो



सप्तरी,कात्तिक २९ । चारदिने छठ पर्वको तेस्रो दिन आइतबार साँझ सप्तरीका विभिन्न पोखरी, नदी तथा जलाशयमा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

मिथिलाञ्चलमा ‘सझिया अरख’ भनिने यस विधिका लागि आकर्षक रूपमा सजाइएका घाटमा व्रतालु तथा श्रद्धालुको भीड लागेको थियो। राजविराजस्थित भगवती, कल्टुदास, झल्ही, तुरन्ती र तेतरी गाछीलगायत जिल्लाका विभिन्न जलाशयमा व्रतालुले विधिपूर्वक सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन्।

छठका अवसरमा व्रतालु तथा परिवारका सदस्यले घरमै ठेकुवा, भुसुवा, खजुरी र पुडुकियालगायत परिकार तयार गरेका थिए। नरिवल, फलफूल, मिठाइ र उखुसहितका पूजासामग्री कोनिया, ढक्की तथा नाङ्लोमा सजाएर घाटसम्म पुर्‍याइएको थियो।

राजविराज नगरपालिका–२ की व्रतालु पुनम देवले परिवारका सदस्यको सहयोगमा पूजासामग्री घाटमा पुर्‍याएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको बताइन्। अर्घ्य दिएपछि व्रतालु रातभर घाटमै बसेर छठी माताको पूजा आराधना गर्ने र भक्तिगीत गाउने परम्परा छ।

शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको पर्वमा शनिबार दिनभर उपवास बसेर राति खरना विधि सम्पन्न गरिएको थियो। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुनेछ। मिथिलाञ्चलमा बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

सूर्यदेव र छठी माताको आराधना गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको राजदेवी मन्दिरका पुजारी भोलानाथ चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस्