कर्णाली याक्सको जित, प्लेअफमा पुग्न असफल
काठमाडौं,कात्तिक २९ । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । तर, जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने असफल भएको छ । चितवनले हार बेहोरे पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
कर्णालीले यस संस्करणमा खेलेका सात खेलमध्ये तीनमा जित र चारमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो । चितवनका लागि उसामा मिरले अविजित २८, कामिल मिसराले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कर्णालीका लागि हुसेन तलातले तीन विकेट लिए । पवन सर्राफ र मार्क वाटले समान दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो । कर्णालीका हुसेन तलातले अविजित ५१ रन बनाउँदै टोलीको स्कोर उकासे । आरिफुल इस्लामले ३५, गुलशनकुमार झाले १८ र पवन सर्राफले १५ रनको योगदान दिए ।
चितवनका सलाहुद्दीन खान, उसामा मिर र कमल सिंह ऐरीले समान दुई तथा कप्तान सिकन्दर रजा र रिजन ढकालले एक–एक विकेट लिए ।
एनपिएलअन्तर्गत आजै काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सबीच अर्को खेल हुँदैछ ।

