पश्चिमी वायुको प्रभावले विभिन्न ठाउँमा वर्षा र हिमपात, अब मौसम क्रमशः खुल्ने



काठमाडौं,कात्तिक २९ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको हो।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज राति गण्डकी प्रदेशका केही स्थानमा असिनासहित वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद् ढकालका अनुसार आज बेलुकादेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि घट्दै जानेछ। आगामी दुई दिन वर्षाको गतिविधि न्यून रहने तथा त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान छ।

धान काट्ने समय चलिरहेकाले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्य गर्न मौसमविद् ढकालले किसानहरूलाई सुझाव दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्