चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौं,कात्तिक २९ । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरीको मोटरसाइकलमा सवार दुई जना र बिक्रीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले कात्तिक २७ गते राति करिब ११ बजे काठमाडौं महानगरपालिका–७ चाबहिलमा जाँच गर्ने क्रममा बा ८४ प ५४८४ नम्बरको सेतो–कालो एनएस मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा र जुगल गाउँपालिका–३ घर भई माकलबारी सानो पुल बस्ने १९ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूसँग सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको र बिक्री गर्ने व्यक्ति समीर तामाङ रहेको खुलेपछि प्रहरीले उनको खोजी गरेको थियो। खोजीका क्रममा कात्तिक २८ गते सुन्दरीजल भद्रबासबाट जुगल गाउँपालिका–३ का २८ वर्षीय दशलाल भन्ने समीर तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एनएस २०० मोटरसाइकल एक थान, एनटर्क स्कुटर एक थान, विभिन्न नम्बरका सवारी नम्बर प्लेट दुई थान, सवारी दर्ता किताब एक थान, टुल बक्स एक थान, टुलकिट १३ थान र मोबाइल चार थान बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

