नेपाल शिक्षक महासंघको २९ दिनदेखि जारी आन्दोलन स्थगित

काठमाडौं,वैशाख १७ । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै नेपाल शिक्षक महासंघले २९ दिनदेखि जारी आन्दोलन स्थगित गरेको छ। सरकारसँग नौबुँदे सहमति भएसँगै महासंघले एक विज्ञप्ति जारी गरी आन्दोलन रोक्ने जनाएको हो।
महासङ्घले जारी गरेको विज्ञप्तिमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको उल्लेख छ।
यसैगरी महासंघले मन्त्रिपरिषदबाट केही मागहरु सम्बोधन भएको र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धतासमेत पाएकाले शैक्षिक हड्ताल र आन्दोलन स्थगित गरिएको जनाएको छ।
महासंघले प्रतिबद्धता व्यक्त गरिएअनुसार तोकिएको समयभित्र ऐन जारी नभए फेरि कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।
महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गते शुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि काठमाडौँकेन्द्रित सडक प्रदर्शन भइरहेको उल्लेख छ।
आन्दोलनरत शिक्षकहरुलाई अब विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन र परीक्षा सञ्चालनलगायतमा सहभागी हुन पनि महासंघले आग्रह गरेको छ।