छहरे-त्रिशुली अन्तर्गत बराफेदीमा मोटरसाइकल र विद्युतीय गाडी ठोक्किँएर दुर्घटना

नुवाकोट, वैशाख २४ – नुवाकोटको छहरे–त्रिशुली सडकखण्डअन्तर्गत लिखु गाउँपालिका–१ बराफेदीमा बुधबार बेलुका मोटरसाइकल र विद्युतीय गाडी ठोक्किँदा दुई जना घाइते भएका छन्।
काठमाडौँबाट त्रिशुलीतर्फ जाँदै गरेको बा ८४ प ५३४४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६००१ ज ०३३७ नम्बरको विद्युतीय गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुरको गोदावरी नगरपालिका–६ बस्ने अन्दाजी ३१ वर्षीय मदु बिष्ट र पछाडि सवार नुवाकोट लिखुका ५४ वर्षीय अम्बु खड्का घाइते भएका हुन्।
दुबै जनालाई तत्काल स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पठाइएको ढिकुरे प्रहरी चौकीका सई गणेश लामाले जानकारी दिए।
दुर्घटनामा संलग्न मोटरसाइकल र विद्युतीय गाडी दुवै प्रहरीको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।