नुवाकोटको शिवपुरीमा बेरोजगारलाई सिपमूलक कार्यक्रम

नुवाकोट,वैशाख २५ । नुवाकोटको ग्रामीण भेग शिवपुरीमा बेरोजगारलाई सिपमूलक कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत सिपमूलक प्रशिक्षण र रोजगारसमेत दिइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँवासीलाई सिपमूलक प्रशिक्षण र निश्चित अवधिको रोजगारीसमेत प्रदान गरिएको शिवपुरी गाँउपालिकाले जनाएको छ ।
युवा रोजगारीका लागि रूपान्तरण अन्तर्गत शिवपुरी गाँउपालिकाको रोजगार सेवा केन्द्रबाट सञ्चालित प्रशिक्षण तथा एक सय दिनको रोजगारी दिइएको गाँउपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम अन्तर्गत बेरोजगार ७२ जनालाई एक सय दिनको रोजगारी प्रदान गरिएको छ । उनीहरूले शिवपुरीको विभिन्न बाटोघाटो, पाटी पौवा, सार्वजनिक स्थल तथा सामाजिक स्थानमा श्रम गरेर रोजगारी पाएको अध्यक्ष थपलियाले वताए ।
यसका साथै कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी सम्बन्धी ५० दिनको सिपमूलक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । अध्यक्ष गोविन्दप्रसाद थपलियाले प्रमाणपत्र प्रदान गर्दै सिपलाई स्वरोजगारको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रमअन्तर्गत ३६ जना सहभागीलाई कार्पेन्टर र मेसन तालिम प्रदान गरिएको हो । सहभागीहरूलाई गाँउपालिका अध्यक्ष थपलियाका साथै, उपाध्यक्ष वीरबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साललगायतले प्रमाणपत्र प्रदान गर्व ।