रामेछापको मन्थलीमा निर्माणाधीन पक्की पुल भाँचियो



रामेछाप,वैशाख २६ । रामेछापमा निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो ।

निर्माण कै क्रममा शुक्रवार मन्थली नगरपालिका–६ कुनाउरी र वडा नं ७ मुगिटार जोड्ने पक्की पुल भाँचिएको मन्थली नगरपालिका–६ का स्थानीय गोपाल माझीले बताउनुभयो । उहाँका अनुसार तीन वटा स्ल्याब रहेको पुलको बिचको स्ल्याब भाँचिएको हो ।

यो पुल २०८२ साल भदौ अन्तिमसम्म म्याद भए पनि आगामी असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुलको अन्तिम स्ल्याब ढलान भइरहँदा बिचको स्ल्याब भाँचिएको हो ।

२०७८÷७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतिको हो । कुल २ सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडा हुनेछ ।

पुलबाट दोहोरो यातायातका साधन सञ्चालन गर्न सक्नेछन् । सरकारले पुल निर्माणका लागि भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

उक्त रकम मध्ये करिब ६० प्रतिशत भन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिसकेको छ । दुई महिना अगाडि नै पुल निर्माणको ९० प्रतिशत काम सम्पन्न गरिसकेको निर्माण कम्पनीले दाबी गरेको थियो । यो पुल निर्माण पश्चात् काठमाडौँ रामेछापका लागि सहज यात्रा हुने आसा गरिएको थियो । यो पुल बनेपछि मन्थली खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौली सहित खाँडादेवी गाउँपालिकाको विभिन्न वडा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्