नुवाकोटको लिखुमा प्रथम दलित अधिकार सम्मेलन सम्पन्न

नुवाकोट,वैशाख २७ — जिल्लाको लिखु गाउँपालिकामा प्रथम ऐतिहासिक लिखु दलित अधिकार सम्मेलन २०८२ भव्यतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा दलित समुदायको नेतृत्व विकासमा यस्ता कार्यक्रमहरूले ठूलो योगदान पुग्ने धारणा बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति रमेश कुमार महतले व्यक्त गरे ।
उनले दलितमाथिको सामाजिक विभेदलाई कानूनले दण्डनीय बनाएको स्मरण गराउँदै अब मानिसमानिसबीचको अमानवीय विभेदको पूर्ण अन्त्य हुनुपर्नेमा जोड दिए। सम्मेलनमा लिखु क्षेत्रका करिब १०० जना दलित अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले लिखु गाउँपालिकामा झण्डै ९ प्रतिशत जनसंख्याले ओगटेको दलित समुदायका लागि स्थानीय नीति, कार्यक्रम तथा बजेटमा समानुपातिक विनियोजन गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेका थिए।
दुई दिनसम्म चलेको प्रशिक्षणमूलक र अधिकारमुखी विचार सम्मेलनमा विभिन्न विज्ञहरूले आआफ्ना विषयमा प्रस्तुति दिएका थिए । अधिवक्ता प्रकाश नेपालीले “दलित समावेशीकरणका कानूनी पटाक्षप: कहाँ, के र कति?”, अधिकारकर्मी तथा लेखक सरोजदिलु विश्वकर्माले “नेपालको दलित आन्दोलनका आयामहरू: उपलब्धि तथा चुनौती” र “लिखुका दलितका दु:ख: अबको रणनीति, योजना तथा कार्यक्रमहरू” विषयमा मन्तव्य दिए । अधिवक्ता सुरेन्द्रराज अधिकारीले “गैरदलितको दृष्टिमा दलितको संवैधानिक तथा कानूनी अधिकार: सवाल तथा भावी रणनीति” विषयमा र राष्ट्रिय दलित आयोगका माननीय सदस्य श्री सुन्दर पुर्कुटीले “संविधान र कानूनका नजरबाट दलित अधिकार: हिजो र आज” विषयमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले सहभागीहरूलाई सम्बोधन गर्दै, विगतमा दलित समुदायमाथि भएको जातीय भेदभावमा सुधार आएको र दलित सशक्तिकरण विधेयक पारित गर्न आफू प्रतिवद्ध रहेको बताए । उपाध्यक्ष सुभद्रा उप्रेती अधिकारीले समेत दलितका सवालहरूलाई गम्भीरतापूर्वक लिइने र न्यायोचित विकासका कार्यक्रमहरू अघि बढाइने धारणा राखे ।
सम्मेलनमा आयोजक संस्थाका तर्फबाट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने प्रमुख अतिथि रमेश कुमार महत, विशिष्ट अतिथि सुन्दर पुर्कुटी र लिखु गापाका अध्यक्ष ध्रुब श्रेष्ठलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो। सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो।
समापन समारोहमा लिखु गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानी रोका, दलित संघका केन्द्रीय सदस्य भोजबहादुर नेपाली र सरिता रम्तेल, नेपाल किसान महासंघ नुवाकोटका जिल्ला सभापति अजय पाठक, नेपाली कांग्रेस पञ्चकन्या गाउँकार्यसमिति सचिव पुरुषोत्तम खड्का, सामाजिक शाखा प्रमुख पार्वती ढकाललगायतले सम्मेलनको उद्देश्य सफल पार्न सबै दलित समुदाय एकजुट भएर अगाडि बढ्न सुझाव दिएका थिए ।
कार्यक्रमको उद्घाटन तथा समापन समारोह प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा हालका कार्यकारी निर्देशक धनबहादुर मिजारले अध्यक्षता गरेका थिए भने सञ्चालन कुमार मिजारले गरेका थिए ।