माटोको ढिस्कोले पुरिँदा एकको मृत्यु



कपिलवस्तु,वैशाख २८ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

नेवलागन्जमा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेसन खन्ने क्रममा आइतबार बिहान करिब ११ बजे माटो खस्दा दुई जना कामदार पुरिएका थिए । उनीहरूलाई उपचारका लागि शिवराज आधारभूत अस्पताल पुर्‍याइएकाे थियो ।

पुरिएका मध्ये स्थानीय ३० वर्षीय केशव थापाको मृत्यु भएको शिवराज आधारभूत अस्पताल चन्द्रौटाले जनाएको छ । घटनामा ४८ वर्षीय सर्जुलाल चौधरी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्