टिपरको ठक्करबाट वृद्धको मृत्यु, सडकमै शव राखेर स्थानीय प्रदर्शनमा

सिरहा,वैशाख ३० । सिरहाको मिर्चैया नगरपालिका-७ स्थित बकरी बजारमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
आज बिहान मिर्चैया फुलबारी-७ बकरी बजारका ७० वर्षीय महिन्द्र महराको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख राजेश राज पुरिले जानकारी दिए ।
बकरी बजार कटारी जाने सडकखण्ड अन्तर्गत बकरी बजारमा बा.प्र ०१-००४क ૨९५३ नम्बरको टिपरले पूजा गर्न जाँदै गरेका महरालाई बिहान पाँच बजेको समयमा ठक्कर दिएको थियो ।
कटारी चुन ढुङ्गा खानीबाट ढुङ्गा लिएर मिर्चैयातर्फ आउँदै गरेको टिपरले पछाडिबाट ठक्कर दिँदा दुर्घटना दिँदा महाराको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनालगत्तै भेला भएका स्थानीयले मिर्चैया-७ फुलबरिया बकरी बजार मुख्य कटारी जाने सडकखण्ड अवरूद्ध बनाएर प्रदर्शन गरेका छन् ।
मृतकका आफन्त र स्थानीयले टिपरले ब्याक गरेर किचेर मारेको आरोप लगाएका छन् । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।