शिवपुरी गाउँपालिकामा भोलि शोक बिदा

नुवाकोट, बैशाख ३० – नुवाकोटको शिवपुरी गाउँपालिका–१, तलाखुस्थित श्री बच्छ्ला आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकराज ढुंगानाको असामयिक निधनप्रति शोक प्रकट गर्दै शिवपुरी गाउँपालिकाले बैशाख ३१ गते एक दिन शैक्षिक बिदा दिने निर्णय गरेको छ।
२०८१ सालदेखि प्रधानाध्यापकको रूपमा कार्यरत ढुंगानाको २०८२ साल बैशाख २६ गते असामयिक निधन भएको गाउँपालिकाले जनाएको छ। शिक्षाक्षेत्रमा युवाको सक्रिय योगदान पुर्याउदै आएका ढुंगानाको निधनले सम्पूर्ण शिक्षामैत्री समाजलाई स्तब्ध तुल्याएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालद्वारा हस्ताक्षरित सूचनामा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै बुधबार सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द रहने जनाइएको छ। साथै, ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न शिक्षक, विद्यार्थी तथा अभिभावकलाई आग्रह गरिएको छ।
शिक्षा क्षेत्रलाई विकासको आधार मानेर अघि बढ्दै गरेको एक शिक्षकको निधनले सम्पूर्ण क्षेत्रमा शोकको छाँया छाएको छ।
