नुवाकोट जिल्ला प्रशासनद्वारा नदी तथा जलाशय क्षेत्रमा सावधानी अपनाउन आग्रह

नुवाकोट, वैशाख ३१ — गर्मीयाम सुरु भएसँगै त्रिशूली, तादी, लिखु, पोखरी, खोलानाला लगायतका जलाशय क्षेत्रहरूमा नुहाउने, पौडी खेल्ने, डुंगा चलाउनेजस्ता गतिविधिमा वृद्धि हुँदै गएको छ। यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले दुर्घटनाको जोखिम बढेको भन्दै नागरिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
बुधबार जारी सूचनामा प्रशासनले भनेको छ, “गर्मीको समयमा यस्ता जल क्रियाकलाप अत्यधिक बढ्ने हुँदा सामाजिक सतर्कता र सुरक्षा उपायहरू अत्यावश्यक छन्।”
प्रशासनले निम्न सावधानीहरू अपनाउन अनुरोध गरेको छ:
बालबालिकालाई नदी तथा जलाशय क्षेत्रमा एक्लै जान नदिनुहोस्।
पानीको गहिराइ थाहा नपाईकन नुहाउने वा पौडी खेल्ने कार्य नगर्नुहोस्।
गहिरो र अपरिचित स्थानहरूमा पौडी खेल्न नजानुहोस्।
सामूहिक र संरक्षकको साथमा मात्र जल क्रियाकलाप गर्नुहोस्।
मादक पदार्थ सेवनपछि पानीमा खेल्ने वा पौडी खेल्ने कार्य नगर्नुहोस्।
सुरक्षा उपकरण प्रयोग गर्न नबिर्सनुहोस्।
आपतकालीन अवस्थामा तत्काल प्रहरी कार्यालयको १०० नं. मा वा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सूचना अधिकारीको मोबाइल नं. ९८५१२८२३८० मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।
प्रशासनले सचेत गराउँदै भनिएको छ, “तपाईंको सानो असावधानीले ठूलो दुर्घटना निम्त्याउन सक्छ, सावधानी अपनाऔं, सुरक्षित बनौं, जिम्मेवार नागरिक बनौं।”
