मजदुर, किसान र उत्पीडित वर्गले माओवादीलाई तीन पटक सरकारमा पुर्याए, कुनै कांग्रेस-एमालेले होइनः प्रचण्ड



डोटी,जेठ ३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएको बेलामा मध्यपहाडी लोकमार्गको प्रस्ताव गरेर अगाडि बढाएको बताएका छन् । आज मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले माओवादीले प्रस्ताव गरेको मध्यपहाडी लोकमार्ग अहिले सम्पन्न हुने तयारीमा रहेको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी कमजोर भएको खण्डमा नेपालका महिला, दलित, मजदुरहरु, किसान, आदिवासी, जनजातिहरुको अधिकार खोसिने सम्भावना रहेको बताए । उनले सबैलाई अधिकारसम्पन्न र शक्तिशाली बनाउन माओवादी केन्द्रलाई बलियो बनाइराख्नुपर्ने बताए । ‘जबसम्म माओवादी केन्द्र बलियो रहन्छ, तबसम्म यो देशका महिला, दलित, मजदुरहरु, किसान, आदिवासी, जनजातिहरु सबै अधिकारसम्पन्न र शक्तिशाली हुन्छन् । माओवादी कमजोर भयो भने सबैको अधिकार खोसिने खतरा छ,’– उनले भने, ‘त्यस हुनाले हामीले तपाईँहरुलाई अपिल गरेका छौं– हाम्रो हात बलियो बनाउनुस् ।’

अध्यक्ष प्रचण्डले आफू सरकारमा रहेको बेलामा सुशासन र सामाजिक न्यायको पक्षमा लडाईँ लडेको दाबी गरे । उनले तत्कालीन समयमा देशलाई आर्थिक संकटबाट पार लगाउन धेरै मेहनत र संघर्ष गरेको पनि उनले स्मरण गराए । माओवादी नेतृत्वको सरकारले दलाल, नोकरशाह, विचौलियाहरुको विरुद्ध संघर्ष गरेको कारण सरकारबाट हटाइएको पनि उनको दाबी छ ।

अध्यक्ष प्रचण्डले आफूसहित माओवादीलाई कुनै एमाले र कांग्रेसले सत्तामा नपुर्याएको दाबी गरे । अध्यक्ष प्रचण्डले गरिब, मजदुर, किसान र उत्पीडित वर्गले माओवादीलाई सत्तामा पुर्याको, तर माओवादीले तिनै वर्गको पक्षमा ध्यान दिन नसकेको पनि आफूहरुलाई अनुभूति भएर अहिले उनीहरुको पीडा र दुःख सुन्न अभियानमा जोडिएको बताए ।

‘हामीलाई सिंहदरबारमा पुर्याउने, हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्याउने, हामीलाई तीन–तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउने कुनै कांग्रेसहरु, कुनै एमालेहरु होइनन् । गरिब, मजदुर, किसान र उत्पीडित वर्गले हामीलाई पुर्याएको हो । सायद यो बीचमा ८÷१० वर्ष हामीले जति जनताको नजिक जानुपर्थ्यो, जति जनताको कुरा जनताबाटै सुन्नुपर्थ्यो । त्यो हाम्रो कमजोरी भयो । त्यसलाई आत्मसमीक्षा गरेर तपाईहरुको साथमा, तपाईँहरुको पीडा सुनेर राष्ट्रव्यापी रुपमा घन्काउने उद्देश्यको साथ हामी आएका छौं,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्