नुवाकोटको स्थानीय तहमा घट्न थाले मेलमिलाप तर्फ उजुरी

काठमाडौं,जेठ १२ । स्थानीय तहमा रहेको मेलमिलाप केन्द्रमा उजुरीहरू घट्दै गएको छ । स्थानीय तहले मेलमिलाप गर्ने अधिकार पाएका उजुरीहरू छिनोफानो गर्ने गरेका छन् ।
नुवाकोटको विदुरमा आयोजित यस सम्बन्धी विशेष अन्तर्क्रियामा स्थानीय तहमा रहेका मेलमिलाप केन्द्रमा विगतको तुलनामा कम उजुरीहरू पर्ने गरेको जानकारी दिइएको छ । विभिन्न जनप्रतिनिधि, न्यायिक समिति सदस्य÷ न्यायिक सहजकर्ता÷ मेल मिलापकर्ताहरुसंग आयोजित मेलमिलाप सम्बन्धी अन्तर्क्रियामा सो जानकारी दिइएको हो ।
कार्यक्रममा न्यायिक निरूपण र मेलमिलापको सन्दर्भमा नुवाकोटका १२ वटै स्थानीय तहका न्यायिक समितिबिच विशेष अन्तर्क्रिया गरिएको हो । सो क्रममा उजुरी घटाउन स्थानीय तह सफल भएको निष्कर्ष निकालिएको छ ।
नुवाकोटको सदरमुकाम विदुर समेटिएको विदुर नगरपालिकाको न्यायिक समितिमा बितेको तीन वर्षको तुलनामा चालु वर्षमा कम उजुरी दर्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न प्रकृतिका ७० थान, आव २०८०÷०८१ मा ८५ थान र चालु आवको हालसम्म ६० थान उजुरी परेको छ ।
समितिमा अधिकांश उजुरीहरू लेनदेन र जग्गा सम्बन्धी पर्ने गरेका छन् । चालु आवको हालसम्म समितिमा १५ थान लेनदेन र १३ थान जग्गा सम्बन्धी, आठ थान गोरेटो बाटो सम्बन्धी, सात थान घरायसी सम्बन्धी, पाँच थान सांंधसिमाना सम्बन्धी उजुरी परेको न्यायिक समितिकी संयोजक तथा उपमेयर प्रभा बोगटीले बताइन ।
उनका अनुसार ९० प्रतिशत उजुरीहरू मेलमिलाप गरेरै समाधान गरिएको छ । अव समितिमा सात वटा उजुरी मात्रै छलफल गर्न बाँकी रहेको छ ।
विदुर नगरपालिकाको न्यायिक समितिमा परेका उजुरीहरूमध्ये अधिकांश उजुरीहरू मेलमिलापबाटै समाधान भएको न्यायिक समितिकी संयोजक तथा उपमेयर बोगटीले बताइन । समितिमा आर्थिक वर्ष २०८०÷२०८१ मा परेको ६० वटा उजुरी मध्ये ९० प्रतिशत उजुरी मेलमिलापको माध्यमबाट समाधान भएको समितिकी सहजकर्ता राममाया न्यौपानेले बताइन ।
चालु आवमा घरायसी सम्बन्धी निवेदनमा ७ वटामा ७ वटै मेलमिलापबाट समाधान भएका छन् । लेनदेन सम्बन्धी १५ वटा उजुरीमा ७ वटा समाधान र ८ वटा मेलमिलापको माध्यमबाट समाधान भएको छ ।
जग्गा सम्बन्धी १३ वटा निवेदन मेलमिलापका आधारमा समाधान भएको छ । ज्याला मजदुरी सम्बन्धी २ वटा, गोरेटो बाटो सम्बन्धी ८ वटा मेलमिलापको माध्यमबाटै समाधान गरिएको न्यायिक समितिले जनाएको छ ।
संवैधानिक अधिकार अन्तर्गत व्यवस्था भएको न्यायिक समितिमा कार्यसम्पादनमा १०० मा १०० प्रतिशत नै रहँदै आएको छ । न्यायिक समितिका अनुसार पशुपन्छी पाल्दा असर पु¥याएको सम्बन्धी ४ वटामा २ वटा फैसला र दुई वटा मेलमिलापको माध्यमबाटै समाधान गरिएको छ ।
साँध सिमाना सम्बन्धी ५ वटा, कुटपिट सम्बन्धी ३ वटा, अंशबन्डा सम्बन्धी २ वटा मेलमिलापबाट र खानेपानी सम्बन्धी एउटा उजुरी छलफलबाटै समाधान गरिएको छ । समितिले विवादहरूको समाधानको लागि आवश्यकता अनुसार कार्यस्थलमै जाने र तथ्य प्रमाण सङ्कलन गरी न्यायिक निरूपण गर्दै आएको जनाएको छ ।
विदुर नपा कार्यालयमा छुट्टै इजलासको व्यवस्था गरी न्यायिक निरूपणलाई विश्वसनीय र प्रभावकारी बनाइएको उपमेयर प्रभा बोगटीको भनाई छ । मेलमिलापको लागि नगर स्तरीय मेलमिलाप केन्द्र सहित १३ वटै वडामा मेलमिलाप केन्द्रसमेत क्रियाशील गराइएको छ ।
विदुर नपा मा संयोजक प्रभा बोगटी सहित दुई सदस्य गणेशकुमार नेपाल र सीता बोगटी रहेको न्यायिक समिति रहेको छ । न्यायिक समितिको कामलाई व्यवस्थित गर्न न्यायिक सहजकर्ता राखिएको छ ।
मेलमिलापलाई प्रभावकारी बनाउन ७१ सदस्यीय मेलमिलापकर्ताहरू विभिन्न वडा स्तरमा सक्रिय रहेका छन् । आम सर्वसाधारणलाई न्यायमा सहज र छिटो पहुँचको लागि स्थापना गरिएको न्यायिक समितिको कार्य सम्पादन प्रभावकारी बनाउँदै लगिएको विदुर नपाले जनाएको छ ।