राप्रपा नेता मिश्र रु तीन लाख धरौटीमा रिहा

काठमाडौं,असार ४ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । मंगलबार सकिएको थुनछेक बहसमा मिश्रलाई धरौटीमा छाड्ने आदेश भएको उनले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार मिश्रले तीन लाख बुझाएका छन् । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र विरूद्ध सरकारले राज्य विरूद्धको कसुर, आपाराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुने मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।