बाढीपीडितको अस्थायी आवासमा कीटाणुनाशक औषधि छर्किँदै
नुवाकोट,कात्तिक २९ । भोटेकोसी बाढीपछि नुवाकोटमा अस्थायी आवासमा बसोबास गरिरहेका बाढीपीडित परिवारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरसफाइ अभियान सञ्चालन गरिएको छ।
बागमती सेवा समाज नेपाल र अक्सफामको सहकार्यमा बाढीपीडितको अस्थायी आवासस्थलमा कीटाणुनाशक औषधि छर्कने काम भइरहेको छ।
संस्थाले अस्थायी आवासका टेन्ट वरपर, ढल निकासका नाली तथा फोहोर जम्मा हुने स्थानमा फिनाइल छर्किरहेको छ। यसबाट दुर्गन्ध नियन्त्रण गर्नुका साथै सरसफाइ कमजोर भएका स्थानमा फैलिन सक्ने ई. कोलाई (E. coli) लगायतका हानिकारक जीवाणु नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढीका कारण विस्थापित भई अस्थायी आवासमा बसिरहेका परिवारलाई स्वच्छ, सुरक्षित र बस्नयोग्य वातावरण उपलब्ध गराउने उद्देश्यले सरसफाइ तथा स्वास्थ्य सुरक्षासम्बन्धी गतिविधि सञ्चालन गरिएको हो।

