नुवाकोट बेलकोटगढी नगरपालिकाका इन्जिनियर घुस प्रकरणमा जिम्मेवारीमुक्त



नुवाकोट,असार ४ — नुवाकोटको बेलकोटगढी नगरपालिका सातौं तहका इन्जिनियर रामशरण अधिकारीलाई घुस प्रकरणमा जिम्मेवारीबाट हटाइएको छ। ठेकेदारसँग घुस लिएको अडियो सार्वजनिक भएपछि सेवाग्राहीबाट गुनासो आएको र स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले अधिकारीलाई पूर्वाधार शाखाको जिम्मेवारीबाट मुक्त गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दीपक सिंहद्वारा पठाइएको पत्रमा भनिएको छ, “तपाईंको कार्यसम्पादनप्रति प्रश्न उठेकाले हालका लागि पूर्वाधार शाखाको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।”

प्रकरण सार्वजनिक भएपछि अधिकारीले माफी माग्दै रकम फिर्ता गरेका थिए। तर, भिडियोसहितको प्रमाण बाहिरिएपछि घटनाले झनै चर्चा पाएको हो। उपप्रमुख शिवप्रसाद दाहालका अनुसार कामप्रति असन्तुष्टि रहेकाले कारबाही गरिएको हो। अबको जिम्मेवारी नगरपालिकाका सब इन्जिनियर अभिषेक चन्दलाई दिइएको छ।

यसैबीच, बेलकोटगढीमा निर्माण भएका सडकहरू गुणस्तरहीन भएको भन्दै स्थानीयबासीको चर्को गुनासो आएको छ। नेपाली कांग्रेसका केही स्थानीय नेतासमेत अनुगमनमा निस्किएका थिए। सार्वजनिक सुनुवाईमा समेत विकास निर्माणका कामहरू कमजोर भएको भन्दै नगर नेतृत्वको आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्