विदुर–११ को ऐतिहासिक गढीहरुको स्थलगत अवलोकन, संरक्षणका लागि बजेटको प्रतिबद्धता

विदुर, असार ४ – विदुर नगरपालिका वडा नं. ११ मा अवस्थित दुधेला, कालिका सहित आसपासका ऐतिहासिक गढीहरुको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठको नेतृत्वमा नगर कार्यपालिकाको टोलीसहितको सहभागिता रहेकोे थियोे।
नगरप्रमुख श्रेष्ठसँगै उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि, स्थानीयबासी तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
अवलोकन टोलीले हाल ती गढी क्षेत्रहरूमा निर्माण भइरहेको पदमार्ग तथा सिँढी निर्माणको कामको निरीक्षण गर्नुका साथै संरक्षण र पर्यटन प्रवर्द्धनका सम्भावनाबारे समेत छलफल गरेको थियो।
विदुर नगरपालिकाले उक्त ऐतिहासिक क्षेत्रको संरक्षण तथा विकासका लागि निर्माण गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता नगरप्रमुख श्रेष्ठले जनाएका छन्।
कार्यक्रमले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको स्थानलाई व्यवस्थित संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।