राजनीतिसँगै समाजसेवामा पनि अग्रसर सुमन पाण्डे, हजारौं किसानलाई फलफूलका विरुवा वितरण

नुवाको,असार ४ —राजनीतिमा सक्रियता बढाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै सक्रिय देखिएका छन्। नुवाकोट क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका पाण्डे २०७९ को संसदीय निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीसँग थोरै मतान्तरले पराजित भए पनि त्यसयता आफ्नो क्षेत्रका जनताबीच निरन्तर उपस्थित भइरहेका छन्।
पाण्डेले हालसम्म करिब १०० पटक नुवाकोटका गाउँगाउँ पुगिसकेका छन्। पछिल्लो समय उनले राजनीतिक भेटघाटभन्दा पनि कृषक लक्षित कार्यक्रममार्फत समाजमा योगदान पुर्याउने अभियान थालेका छन्। त्यही प्रयासस्वरूप उनले किसानहरूलाई फलफूलका विरुवा वितरण अभियान सुरु गरेका छन्।
उनका अनुसार हालसम्म करिब २० हजार फलफूलका विरुवा वितरण गरिसकिएको छ। मंगलबार र बुधबार मात्रै उनले १५ हजारभन्दा बढी कागती र सुन्तलाका विरुवा वितरण गरेका छन्। मंगलबार तारकेश्वर गाउँपालिका–१ मा वितरण भएको थियो भने बुधबार म्यागङ गाउँपालिकाको वडा नं २, ३, ४, ५ र ६ का विभिन्न स्थानमा वितरण गरिएको हो। विशेष गरी बुड्टाड क्षेत्रमा सुन्तला खेतीको माग अत्यधिक देखिएको पाण्डेले बताए। “बुड्टाड मात्रै २७ हजार सुन्तलाका विरुवाको माग आएको छ,” पाण्डेले बताए।
पाण्डे अब एभोकार्डोका विरुवा वितरण गर्ने तयारीमा छन्। “बोटविरुवा केवल आम्दानीको स्रोत मात्र होइन, यसले वातावरणीय सन्तुलनमा पनि भूमिका खेल्छ। बोटविरुवाबाट अक्सिजन प्राप्त हुन्छ, त्यसैले यसको महत्व झनै बढ्छ,” पाण्डे बताउँछन्। उनी भन्छन्, “सुन्तला र कागती जस्ता फलफूल घरआँगनमै हुर्काउन सकिन्छ, आम्दानी पनि हुन्छ। त्यसैले यस्ता विरुवामा जोड दिइएको हो।”
यस अभियानमा विभिन्न साथीहरूको सहयोग रहेको पाण्डे बताउँछन्।
कृषि विज्ञहरूका अनुसार, नुवाकोटको भूगोल र मौसम सुन्तला तथा कागती खेतीका लागि उपयुक्त मानिन्छ। विशेषगरी ८००–१५०० मिटर उचाइमा पर्ने क्षेत्रहरूमा सुन्तला फल्ने गर्छ। चिसो र घामको सन्तुलन हुने समशितोष्ण जलवायुमा उत्पादन हुने सुन्तला स्वादिलो, रसिलो र व्यापारीक हिसाबले पनि लाभदायक हुने विज्ञहरू बताउँछन्। कागतीको खेती १०००–१४०० मिटर उचाइसम्म राम्ररी हुनसक्छ।
सामाजिक अभियन्ता तथा राजनीतिक अनुहारका रूपमा स्थापित हुँदै गरेका सुमन पाण्डेले जुन प्रकारले किसानको जीवनस्तर सुधार्ने उद्देश्यले कार्यक्रम अघि सारेका छन्, त्यसले उनीप्रति जनआस्था थप बलियो बनाउने संकेत देखिएको छ।