चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन् केन्द्रमा २०२ नयाँ बच्चा जन्मिए, संरक्षणमा चुनौती

चितवन,असार ५ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरास्थित घडियाल प्रजनन् केन्द्रमा यस वर्ष वैशाख महिनामा २०२ वटा घडियालका बच्चाहरू जन्मिएका छन् । निकुञ्जले राप्ती र नारायणी नदीबाट संकलन गरिएका २३२ अण्डामध्ये २०२ अण्डा सफल रूपमा फुटेका हुन् ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अति सङ्कटापन्न प्रजातिको घडियाल गोहीलाई संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा स्थापना गरिएको थियो ।
थापा मगरका अनुसार ह्याचरीमा जन्मिएका गोहीहरूलाई पाँच वर्षसम्म माछा खुवाएर हुर्काइन्छ र करिब १५–२० किलो तौल भएपछि नारायणी, राप्ती, कर्णाली वा कोशी नदीमा छाडिने गरिन्छ ।
यस वर्ष मात्रै १०३ वटा घडियाल गोही राप्ती, नारायणी, नदीहरुमा छाडिएको उहाँले बताउनुभयो । ह्याचरीमा हुर्काउँदै गर्दा मृत्यु हुने दर ३० देखि ४६ प्रतिशतसम्म रहेको छ । संरक्षणकर्मीका अनुसार भने यो दर प्राकृतिक नदीको तुलनामा कम हो । प्राकृतिक अवस्थामा घडियालका बच्चाहरू बाँच्ने सम्भावना निकै न्यून हुने देखिन्छ ।
राप्ती नदीमा छाडिएका गोहीहरू अन्य नदीको तुलनामा धेरै बाँच्ने गरेका छन् । तर, कोशी र कर्णालीमा छाडिएका गोहीहरू हराउने वा भारततर्फ बग्ने गरेको घटनाले संरक्षण चुनौती अझै उस्तै रहेको देखिन्छ ।
हाल केन्द्रमा भाले घडियालको अभाव छ, जसले दीर्घकालीन प्रजनन् प्रक्रियामा असर पुर्याउन सक्ने खतरा देखिन्छ । संरक्षणमा सक्रिय निकुञ्जले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताइएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती नदीमा घडियालसँगै मगर गोही पनि पाइन्छ । यी गोहीहरूलाई ताजा र सफा पानी आवश्यक हुने भएकाले घडियाल पाइने नदीलाई ‘स्वस्थ वातावरण’ को सूचकका रूपमा हेरिन्छ ।
२०२ वटा बच्चा जन्मिनु घडियाल संरक्षणको हिसाबले सकारात्मक उपलब्धि हो । तर, प्राकृतिक नदीमा बाँच्ने प्रतिशत अझै न्यून रहेको, नदीमा गोही हराउने क्रम नरोकिएको र भालेको अभाव जस्ता चुनौतीले दीर्घकालीन संरक्षणमा चुनौती थपिएको देखिन्छ । संरक्षणका लागि अझ वैज्ञानिक, स्थानअनुसार रणनीति तय गर्नुपर्ने देखिन्छ ।