विदुर नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर सम्पन्न, सयौं नागरिक लाभान्वित



नुवाकोट, असार ६ — विदुर नगरपालिका नुवाकोटको आयोजनामा विदुर–३ स्थित मैरीटारमा बिहीबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। नगरप्रमुख राजन श्रेष्ठले शिविर उद्घाटन गर्दै स्थानीय नगरवासीलाई विभिन्न सेवा प्रदान गरिएको जानकारी दिए।

शिविरमा नगरप्रमुख श्रेष्ठले सेवा प्रवाहको अवस्थाबारे जनताको राय, सुझाव र प्रतिक्रिया संकलन गरेका थिए । कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, जनप्रतिनिधिहरू, साथै स्वास्थ्य, कृषि तथा पशु विकास शाखाका प्राविधिक कर्मचारीहरूको उपस्थिति रहेको थियो।

शिविरमा उपलब्ध कृषि, स्वास्थ्य र पशु सेवा मार्फत विशेष गरी वडा नं. ३ का सयौं नगरबासी लाभान्वित भएका छन्। यस प्रकारका शिविरले नागरिकलाई प्रत्यक्ष रूपमा सेवा प्रदान गर्दै स्थानीय सरकारप्रति विश्वास बढाउन मद्दत पुग्ने जनाइएको छ।

विदुर नगरपालिकाले आज असार ६ गते वडा नं. १३ स्थित कागुने, सुन्दरादेवी मन्दिरमा पनि यस्तै शिविर सञ्चालन गरिने जानकारी गराउँदै सो अवसरको भरपुर लाभ लिन सम्पूर्ण स्थानीयवासीलाई हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्