तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार संयुक्त शिलान्यास गर्दै शाह र मोदी
काठमाडौं,मंसिर ६ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्नुहुने भएको छ ।
एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीका अनुसार आयोजनाको शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्नुहुने उहाँले जानकारी दिनुभयो । शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिने कम्पनीले जनाएको छ ।
सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । आयोजनाबाट प्रभावित करिब २५३ परिवारलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । आयोजनाका कारण २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन् भने निर्माणस्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन् । आयोजनाले कुल एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने जनाएको छ ।
भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादनपछि जम्मा हुने पानीलाई खाँदबारी नगरपालिका–२ चेवाबेसीबाट करिब १७ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्याइनेछ ।
आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा अघि बढाइनेछ । लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण अवधि पाँच वर्ष रहनेछ भने व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामा नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ ।
आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजना निर्माणले सङ्खुवासभासहित कोशी प्रदेशको ऊर्जा विकास, पूर्वाधार विस्तार तथा आर्थिक गतिविधिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

