आज उद्घाटन हुँदै ग्वार्को फ्लाई ओभर, ट्राफिक जामबाट राहतको आशा

ललितपुर,असार ६ । ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको बहुप्रतिक्षित फ्लाई ओभर आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
२०७८ फागुन १२ मा सुरु भएको परियोजना प्राविधिक जटिलता, ढिलाइ र म्याद थपिएपछि बल्ल २०८१ पुसमा सम्पन्न भएको हो। प्रारम्भिक लागत १७ करोड रुपैयाँ अनुमान गरिएको भए पनि निर्माण सम्पन्न हुँदा लागत ३१ करोड ४६ लाख पुगेको छ। निर्माण ढिलाइका कारण ठेकेदार कम्पनीले १ करोड ४७ लाख हर्जाना समेत तिरेको छ।
चार लेनको उक्त ओभरपासको लम्बाइ ५७६.२ मिटर र चौडाइ १६.४ मिटर रहेको छ। ट्राफिक प्रहरीका अनुसार यसले उपत्यकाको ट्राफिक व्यवस्थापनमा राहत पुर्याउनेछ।
प्रतिनिधिसभाको पूर्वाधार समितिले केही साना काम—जस्तै बत्ती र सिसीटिभी जडान—अझै बाँकी रहेको जनाएको छ।
पूर्वाधारमन्त्री देवेन्द्र दाहालले फ्लाई ओभर निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाइएको र आगामी वर्षमा थप अन्डरपास तथा सुरूङमार्ग निर्माण योजना अघि बढाइने जानकारी दिएका छन् ।