शिक्षा विधेयक भोलिसम्म पारित गर्ने तयारी

काठमाडौं,असार १३ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ भोलिसम्म पारित गर्ने तयारी गरेको छ।
आजको बैठकमा निजी लगानीमा सञ्चालित विद्यालय र इसिडीसम्बन्धी विषयमा सहमति जुटेको छ। निजी विद्यालयहरूलाई सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था विधेयकमा समेटिनेछ।
समितिले निजी विद्यालयलाई शैक्षिक गुठीको रूपमा सञ्चालन गर्न छुट दिने प्रस्ताव पनि पारित गरेको छ। साथै, सार्वजनिक विद्यालयमा बालविकास शिक्षा दुई वर्षे बनाउने विषयमा पनि सहमति जुटेको छ।
समितिकी सदस्य ईश्वरी घर्तीका अनुसार विधेयक आज पारित हुन नसकेकाले भोलि शनिबार दिउँसो १ बजे पुनः बैठक बोलाइएको छ। वैशाख १७ गते सरकारले नेपाल शिक्षक महासङ्घसँग असार १५ भित्र विधेयक ल्याउने सहमति गरेकाले समितिमा दबाब बढेको छ।