एसईई नतिजामा सुधार, उत्तीर्ण दर ६१.८१ प्रतिशत



काठमाडौँ, असार १४। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा गत वर्षको तुलनामा सुधार भएको छ। परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यस पटक ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका मध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका हुन्।

गत वर्ष ४७.८६ प्रतिशत उत्तीर्ण दर रहेकोमा यस पटकको नतिजा झण्डै १४ प्रतिशतले बढेको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार स्थानीय तहदेखि केन्द्रसम्मको तयारी र कमजोर विषयमा विशेष ध्यान दिएकै कारण नतिजा सुधार भएको हो।

शिक्षाविद्हरूले नतिजामा सुधारलाई सकारात्मक भनेका छन् तर विद्यार्थीको सिकाइ प्रक्रियामा पनि सुधार आवश्यक रहेको बताएका छन्। परीक्षा पास गर्न परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिकतर्फ ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ। गतवर्षदेखि लागु गरिएको यो व्यवस्थाले विद्यार्थीमा पढाइको बानी विकास गरेको बोर्डको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्